प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू-एलएलडीसीको तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिन आज त्यसतर्फ जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली आज राति ११ : ५५ बजे ‘फ्लाई दुबई’को उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान जानुहुने छ । भ्रमणको आवश्यक तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदि-मुहामेदोभ र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा त्यसतर्फ जान लाग्नुभएको हो । सम्मेलन यही साउन २० देखि २३ गतेसम्म तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा आयोजना हुनेछ ।
सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका क्रममा ओलीले एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । नेपाल हाल एलएलडिसी समूहको अध्यक्षसमेत रहेको छ ।
एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित विकासशील देशहरूले भाग लिने सो सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव, भूपरिवेष्टित मुलुकले भोग्नुपरेका समस्या र विश्व बजारबाट लिनसक्ने लाभलगायतका विषयमा छलफल हुनेछ ।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग र राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुहुनेछ ।