आदर्श राजनीतिक व्यत्तित्व तुल्सीलाल अमात्यः हिम बहादुर क्षेत्री, महासचिव तुल्सीलाल स्मृति प्रतिष्ठान

mteverestnews.com

प्रत्येक बर्षको श्रावण महिनामा नेपालको राजनीतिक क्षेत्रका तीन नक्षेत्रहरु–प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनद्धारा निर्वाचित महासचिव एवं नेपालको किसान आन्दोलनको शिर्षस्थ व्यक्तित्व तुल्सीलाल आमात्यको स्मृति दिवसहरु लहरै पर्दछन्। गत श्रावण ६ गते नेपाली कांग्रेस र यससँग सम्बन्धित अन्य संघ संगठनहरुले वी.पी. कोइरालाको ४३ औं स्मृति दिवस र नेकपा (एमाले) लगायत विभिन्न वाम घटकहरुले विभिन्न कार्यक्रमहरु गरी पुष्पलाल श्रेष्ठको ४७ औं स्मृति दिवस गत श्रावण ७ गतेका दिन मनाउने काम गरे । आज श्रावण १७ गते क.तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवस तुल्सीलाल स्मृति प्रतिष्ठानको आयोजनमा नेकपा(एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओलीको प्रमुख आतिथ्यता र नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत नेताहरुको विशेष अतिथ्यतामा तुल्सीलाल स्मृति भवन च्यासल, ललितपुरमा मनाउने कार्यक्रम रहेकोछ । निष्ठा र सिद्धान्तको, मूल्य र मान्यताको एवं त्याग र वलिदानको खडेरी परीरहेको मुलुकको वर्तमान राजनीतिक परिदृश्यमा पहिलो पुस्तका यी तीन महान हस्तिहरुबाट वर्तमान एवं भावि पिढीले वहाँहरुका असल गुणहरु अनुशरण गर्न सके मात्र मुलुकको राजनीति सही दिशातर्फ उन्मुख हुने अपेक्षा गर्न सकिन्छ । सिद्धान्त र विचारको, मुल्य र मान्यताको, त्याग र वलिदानको राजनीति स्थापित हुन सकेमा मात्र मुलुकमा विद्यमान भ्रष्ट्राचार, वेथिती, नैराश्यता र नकरात्मकताको अन्त्य हुन गई मुलुकमा सकारात्मक वातावरण उत्पन्न हुनेछ । वि.सं. १९७३ जेठ १४ गते पाटनको कोवाहालमा एक निम्न वर्गीय परिवारमा जन्मेका तुल्सिलाल अमात्यले २००१ सालमा लखनउ विश्वविद्यायबाट अर्थशास्त्रमा एम.ए. गरिसकेपछि नेपाल फर्किएर करिब ३ बर्ष नेपाल बैंकको उच्च पदमा कार्यरत रहनु भयो । त्यस वखत नेपालमा एम.ए.सम्मको अध्ययन पुरा गर्ने व्यक्तिहरु औंलामा गन्न सक्नेहरु द्द मात्र थिए । तर, भारतको स्वतनत्रता आन्दोलनबाट प्रभावित तथा लखनउ विश्वद्यिालयमा अध्ययनरत रहँदा “अंग्रेज साम्राज्यबाद भारत छोड” आन्दोलनमा सहभागि भै सकेका र देशमा व्याप्त निरंकुश एवं जहानीय राणाशाहीका नीतिहरुका कारण वहाँले आफ्नो निजी फाइदाको लागी जागिर जीवनलाई निरन्तरता दिनुभन्दा पनि राणा शासकहरु विरुद्धको आन्दोलनमा हुमिने निर्णय गर्नुभयो । १९४७ को अक्टोबर १५ (२००४ साल असोज २९ गते) अंग्रेजको उपनिवेशबाट भारत स्वतन्त्र भएको खुशियालीमा यसको समर्थन र स्वागत गर्ने उद्देश्यले नेपालका प्रसिद्ध गान्धीबादी नेता तुल्सीमेहर श्रेष्ठको नेतृत्वमा आयोजित जुलुशमा सहभागी हुनुभयो । वहाँलाई जुलशबाटनै पक्राउ गरि ६ महिना सम्म जेलमा राख्ने काम भयो । वहाँ गिरफ्तारमा परेको तेस्रो दिनमा वहाँको पिताजीको र जेलबाट छुट्नु १ दिन अघि वहाँको श्रीमतीको निधन भएको थियो । वहाँको व्यक्तिगत जीवनमा अवश्य नै यो ठूलो बज्रपात थियो । तरपनि यसले उहाँलाई कत्तिपनि विचलित बनाएन बरु जहानिया राणाशासकहरु प्रति वहाँमा तिव्र आक्रोस एवं घृणा पैदा गर्यो । २००५ सालमा वहाँ लुकीछिपी काठमाडौंबाट रक्सौल पुगेर केदानमान वेथित मार्फत विश्वेश्वर प्रसाद कोइरालाले नेतृत्व गरेको र गणेशमान सिंह समेत संलग्न रहेको “नेपाली राष्ट्रिय कांग्रेस”को सदस्य बनि त्यसको केही समयपछि उक्त पार्टीको केन्द्रीय कार्यकारीणी समितिमा मनोति हुनुभएको थियो । नेपाली राष्ट्रिय कांग्रेसको निर्देशनमा वहाँ काठमाडौं फर्किएर राणा विरोधि गतिविधिहरुमा भूमिगत रुपले संलग्न हुन थाल्नुभयो । यसै क्रममा वहाँले पूर्ण बहादुर एम.ए.बाट श्री ५ त्रिभूवनलाई भेट्ने सन्देश प्राप्त गर्नुभयो । तर नारायणहिटी दरबारभित्र कडा सुरक्षा घेरामा रहेका राजा त्रिभुवनलाई भेट्न खोज्नु कम चुनौतिपूर्ण र जोखिमयुक्त थिएन । यसो गर्नु आफ्नो ज्यानलाई समेत खतरामा पार्नु थियो । रातको समयमा नारायणहिटी दरबारको पर्खाल चढेर राजा त्रिभुवनलाई भेट्न वहाँ सफल हुनुभयो । राजा त्रिभुवनलाई भेट्नुको उद्देश्य नेपाली राष्ट्रिय कांग्रेस र राजा मिलेर राणाहरुलाई समाप्त पार्ने योजना बनाउनुथियो । तुल्सीलाल अमात्यलेचीनको कम्युनिष्ट पार्टीले चलाएको जस्तो गुरील्ला युद्ध चलाउनुपर्ने र यसको लागि हातहतियार खरिद गर्न रकमको आवश्यक पर्ने कुरा राजा त्रिभुवनलाई सुनाउनुभयो । राजा त्रिभुवनले हतियार घ खरिद गर्न ३ लाख रुपैयाँ दिने वचन दिए । त्यस समय नेपालमा कांग्रेस पार्टीको नाममा ३ वटा पार्टीहरु क्रियाशिल थिए । १) नेपाली राष्ट्रिय कांग्रेस (वि.पी.ले नेतृत्व गरेको) २) नेपाली राष्ट्रिय कांग्रेस (डिल्लीरमण रेग्मीले नेतृत्व गरेको) ३) नेपाली प्रजातन्त्र कांग्रेस ( सुवर्ण शमशेरले नेतृत्व गरेको) । त्रिभुवनले ३ वटै कांग्रेसलाई मिलाएर एउटै कांग्रेस बनाउन सकेमात्र राणा शासनको अन्त्यको लागि गरिने संघर्षमा सफलता प्राप्त गर्न सहज हुने सुझाव दिनुभयो । २००५ सालतिर नेपाली राष्ट्रिय कांग्रेसमा छँदै उहाँको पहलमा यसको जनवर्गीय संगठनको रुपमा “अखिल नेपाल किसान मजदुर संघ”को स्थापना गरी यस संगठनको घोषणा पत्र समेत लेख्नु भएको थियो । उक्त घोषणा पत्रमा जमिनदारहरुको जमिन खोसेर भूमिहिन गरिब किसानहरुमा वितरण गर्ने उल्लेख गरिएको थियो । यो कुरा पार्टिका अध्यक्ष मातृका प्रसाद कोइरालालाई चित्त बुझेन । मातृकाले वहाँलाई दुईवटा विकल्प मध्ये किसान मजदुर संघ छोड्न वा कांग्रेस छोड्नको लागि सन्देश पठाउनुभयो । कम्युनिष्ट पार्टीको घोषणा पत्र भएको तर नेपाली राष्ट्रिय कांग्रेस पार्टीको घोषणा पत्र नभएकोले घोषणापत्र लेख्नको लागि वि.पी.कोइरालालाई सुझाव दिनुभयो । वि.पी.कोइरालाले एक महिना भित्र पार्टीको घोषणापत्र तयार पार्ने वचन दिएको भएतापनि ६ महिना वितिसक्दा पनि घोषणा पत्र तयार नभएकोले कांग्रेस प्रति मोह भंग हुन पुग्यो । त्यसपछि वहाँ पुष्पलाल श्रेष्ठलाई भेट्न कलकत्ता पुग्नुभयो । पुष्पलालसँगकोगहन छलफल पछि मात्र नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिनुभयो । त्यसपछि १५ सेप्टेम्बर १९४९ ( २००६ भाद्र ३०) मा नेपाल कम्युनिष्ट पार्टीको पहिलो कन्द्रीय संगठन कमिटी गठन गरी नेपाल कम्युनिष्ट पार्टीले आफ्नो घोषणा पत्र जारी ग¥यो । उक्त केन्द्रीय कमिटीमा (१) भाई साहेब (अयोध्या सिं) (२) पुष्पलाल श्रेष्ठ (३) डि.पी. अधिकारी (४) मनमोहन अधिकारी ( ५) शैलेन्द्र कुमार उपाध्याय र (६) तुल्सीलाल अमात्य हुनुहुन्थ्यो । यसपछि मात्र नेपाल कम्युनिष्ट पार्टीले व्यापकता लिन थाल्यो । उहाँको नेतृत्वमा रहेको अखिल किसान मजदुर संघलाई टुक्र्याएर मजदुर संघ र किसान संघ बनाउने निर्णय पार्टीले ग¥यो । मजदुर संघको जिम्मा मनमोहन अधिकारीलाई दिइयो भने किसान संघको नेतृत्वको जिम्मेवारी तुल्सीलाल अमात्यले लिनुभयो । वहाँले अखिल नेपाल किसान संघको संस्थापक अध्यक्ष बन्ने अवसर प्राप्त गर्नुभयो । तत्पश्चात उहाँ किसानहरुलाई संगठीत गर्न रौतहट, बारा द्ध र सर्लाही जिल्लाहरुतर्फ लाग्नुभयो । २००७ सालमा कांग्रेस, राजा र राणाबीच भएको त्रिपक्षिय सम्झौताको विरोध गर्ने नीति नेकपाले लिएको थियो । रौतहट जिल्ला नजिक रहेको नेपाल–भारत सिमानामा डेरा गरी बसेका तुल्सीलाल अमात्यलाई दिल्ली सम्झौताको विरोध गरेकाले उहाँलाई झुठा मुद्दा लगाई गिरफ्तार गरेर ८ महिना सम्म भारतीय जेलमा राखियो । त्यस बखत बारा र रौतहटका किसानहरुमाथि शोषणका विभिन्न रुपहरु लादिएका थिए । यी मध्ये जनौरी, हनौरी शोषणको सबभन्दा घृणित तरिका थियो । जस अनुसार यदि कुनै किसानले ऋण तिर्न नसकेको खण्डमा उक्त साहु, जमिनदार वा सामन्तको घरमा बन्धकको रुपमा बसी जिन्दगीभर काम गर्नुपथ्र्यो । नेपालको बारा, रौतहट र सर्लाहीमा उहाँको नेतृत्वमा विशाल किसान आन्दोलनहरु भएका थिए । उहाँको अगुवाई भएको उक्त ऐतिहाँसिक किसान आन्दोलनमा लगभग तीन लाख किसानहरुको प्रत्यक्ष संलग्नता थियो, २० करोड रुपैयाँ बराबरका जालि तमसुकहरु च्यातिएका थिए । उक्त समयमा डरले ती जिल्लाका स्थानीय प्रशासकहरु भागेर सिमानापार भारत पुगेका थिए । उहाँको लोकप्रियताले गर्दा २०१५ सालमा नेपालमा सम्पन्न पहिलो ऐतिहासिक आम निर्वाचनमा ललितपुरबाट संसदको सदस्यमा निर्वाचित हुन सफल हुनुभयो । २००५ सालदेखि २०१४ साल सम्म क.तुल्सीलाल अमात्यले रौतहट जिल्लामा किसानहरुलाई संगठित गरी सामन्ती शोषण विरुद्ध चलाएको आन्दोलनको फलस्वरुप नै २०१५ सालको संसदिय निर्वाचनमा रौतहटबाट नेपाल कम्युनिष्ट पार्टीका दुई उम्मेद्वारहरु शेख फरमान र हरदयाल महतो निर्वाचित हुन सफल हुनुभयो । यस प्रकार २०१५ सालमा नेकपा विजय हासिल गरेका ४ वटा संसदीय सिटमध्ये ३ वटा स्थानमा विजय हासिल गराउनमा उहाँको प्रमुख भूमिका रहेको थियो । उहाँले संसदमा नेकपा संसदीय दलको नेताको हैसियतले संसदमा खेलेको भूमिका बारे विरोधीहरुले पनि तारिफ गर्ने गर्दथे । गण्डक सम्झौता, विर्ता उन्मुलन र प्रगतिशिल माल्पोत, भारतबाट वनस्पति घिउको आयात विरुद्ध संसदमा आवाज उठाउँदा उहाँलाई सुरक्षा कानून अन्तरर्गत गिरफ्तार गरिएको थियो । २०१७ साल पौष १ गते राजा महेन्द्रले संसद विघटन गरी नेपाल कम्युनिष्ट पार्टी लगायत सबै पार्टीहरुमा छ प्रतिबन्ध लगाएपछि पार्टीमा २ वटा धारहरु देखा परे । पार्टीको महासचिव पदमा रहेका डा.केशव जंग रायमाझी लगायत बहुसंख्यक केन्द्रीय सदस्यहरुले राजाको कदमको समर्थन गरी आत्मसमर्पण गरेकोले पार्टीलाई फेरी क्रान्तिकारी धारमा लैजाने प्रमुख दायित्व तुल्सीलाल र पुष्पलालको रहेको थियो । उहाँहरुले अन्तरजोन सामान्जस्य समिति गठन गरी यसको आयोजनामा २०१९ सालमा नेकपाको तृतीय महाधिवेशन भारतको बनारसमा सम्पन्न गर्नुभयो । यस प्रकार पार्टीलाई दरबारमा बुझाउने डा.केशर जंग रायमाझी लगायतका नेताहरुको षड्यन्त्रलाई चकनाचुर पारी पार्टीलाई क्रान्तिकारी धारमा ल्याउन उहाँले ठूलो योगदान पु¥याउनुभएको थियो । तृतीय महाधिवेशनमा उहाँले प्रस्तुत गरेको “राष्ट्रिय प्रजातन्त्र”को समाजवाद उन्मुख कार्यक्रम अत्यधिक बहुमतले पारित भई सर्वसम्मत रुपले उहाँ पार्टीको महासचिव बन्नुभयो । तर विश्व कम्युनिष्ट आन्दोलनमा खास गरी रुसी र चिनिया कम्युनिष्ट पार्टीमा आएको मतभेद र विवादको प्रत्यक्ष असर नेपाल कम्युनिष्ट पार्टीमा पनि प¥यो । क.पुष्पलाल, मनमोहन अधिकारी, मोहन विक्रम सिंह लगायतका नेताहरुले सोभियत कम्युनिष्ट पार्टीलाई संशोधनवादी भनि तृतीय महाधिवेशनले पारित गरेको राजनीतिक लाइन र कार्यक्रम विपरीत माओ विचारधारा र उहाँले प्रतिपादन गरेको नयाँ जनवादी कार्यक्रमको पक्षमा उभिन पुगे । तुल्सीलाल अमात्यले रुस र चीन दुबैलाई समाजवादी मुलुक ठानी दुवै बीचको एकतामा जोड दिनुभयो । कालान्तरले तुल्सीलाल अमात्यले अपनाएको सन्तुलित नीतिले विजय प्राप्त ग¥यो । हाल नेपाल कम्युनिष्ट आन्दोलनको मूल प्रभाव नेकपा (एमाले) लगायतका कम्युनिष्ट दलहरुले माओ विचारधारा वा माओवाद परित्याग गरिसकेका छन्भने नेकपा माओवादी केन्द्रको माओवाद पनि कार्यकर्ताहरुलाई थामथुम पार्न ब्राण्डाको रुपमा मात्रै उपयोग गरिरहेको प्रष्ट बुझ्न सकिन्छ । पार्टीको तृतीय महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्रीक कार्यक्रम र उहाँलाई महासचिवमा समर्थन गर्नेहरु सबैजसोले वहाँलाई छोडेर गए । तर वहाँलेपार्टीको तृतीय महाधिवेशनले पारित गरेको राष्ट्रिय प्रजातन्त्रको कार्यक्रमलाई अन्तिम सम्म पनि छोड्नु भएन । ट २०३६ सालको ऐतिहाँसिक विद्यार्थी आन्दोलनको परिणामस्वरुप राजा विरेन्द्रले सुधारिएको पञ्चायत रोज्ने कि बहुदल रोज्ने भन्ने विषयमा जनमत संग्रह गराउने घोषणा गरे । यस पश्चात आम माफि पाएपछि १९ बर्ष लामो भारतको निर्वासित जीवन परित्याग गरी स्वदेश फर्केपछि बहुदललाई जिताउने अभियानमा संलग्न हुनुभयो । भारतमा निर्वासित हुँदा चौकिदार, कुल्ली, मजदुरी गर्ने र होटलहरुमा भाँडा माझ्ने नेपाली मजदुरहरु बीच पुगेर उनीहरुमा राजनीतिक एवं बर्गीय चेतना फैलाउने काम गर्नुभयो । नेपालमा नेपाली कांग्रेस सँग मिलि बहुदलीय व्यवस्था पुनस्र्थापना गर्ने उद्देश्यले गठन भएको “बाम मोर्चा”को मानार्थ अध्यक्षको हैसियतले २०४६ साल पाल्गुन ७ गतेदेखि संचालन भएको ऐतिहासिक आन्दोलनको दौरान कम्युनिष्ट पार्टीको रातो झण्डा हातमा लिएर पञ्चायती शासकहरुलाई चुनौती दिँदै खुल्ला रुपले सडक (न्यूरोड)मा आउने उहाँ पहिलो नेता हुनुहुन्थ्यो । तत्कालै पञ्चायती शासकहरुले उहाँलाई गिरफ्तार गरी जेल चलान गरेका थिए । जनआन्दोलनको सफलताको फलस्वरुप नेपालमा बहुदलीय व्यवस्था स्थापना भएपछि मात्र उहाँ जेलमुक्त हुनुभएको थियो । २०५० साल माघ २८ गते क.तुल्सीलाल अमात्यले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी र नेकपा एमाले विचको एकीकरण पश्चात नेकपा एमालेको स्थायी समितिको वरिष्ठ सदस्य बन्नुभयो । नेपालको इतिहासमा पहिलो पटक निर्वाचित कम्युनिष्ट सरकारको पालामा वहाँ चीनका लागि नेपाली राजदूत नियुक्त हुनुभई चीन र नेपाल बीचको मित्रतालाई अझ अघि बढाउन प्रयत्नशील रहनुभयो । वहाँ माक्र्सवाद, लेलिनवाद, माक्र्सवादी दर्शन, सिद्धान्त, अर्थशास्त्र मात्र होइन नेपालको इतिहास, कला, संस्कृति र धर्मको गहिरो अध्यता हुनुहुन्थ्यो । वहाँ निरन्तर समर्पण, निःस्वार्थ पन, त्याग, स्वच्छ राजनीतिक मूल्य र मान्यताका लागि जनमानसमा सुपरिचित हुनुहुन्थ्यो । राजनीतिक संघर्षको दौरान २००४, २००५ र २०१७ सालमा ३ पटक सर्वस्वहरण गरिएको थियो । दिवंगत क.तुल्सीलाल अमात्य प्रति श्रद्धासुमन ।

प्रतिक्रिया