काठमाण्डौं । च्यामा–काठमाण्डौं सेवा समाजद्वारा काठमाण्डौंमा आयोजित दोलखाका पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि जिरी नगरपालिकाले हात पारेको छ ।
काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिकाको अमरसिंह चौरमा सञ्चालन भएको फाईनल खेलमा तामाकोशी गाउँपालिकाको शुभारम्भ युवा क्लबलाई पछाडि पार्दै जिरी नगरपालिकाको टिमले उपाधि हात पारेको हो । त्यसैगरी मेलुङ गाउँपालिकाको टिम तेस्रो तथा कालिञ्चोक गाउँपालिकाको ए टिमले सान्त्वना स्थान हाँसिल गरेको खेल संयोजक भविन्द्र फुयाँलले भिलेज खबरलाई जानकारी दिनुभयो ।
समाजका अध्यक्ष विष्णु पोखरेलको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन सत्रमा अध्यक्षता मन्तव्यमा युवाहरुलाई प्रोत्साहित गर्र्दै पोखरेलले भन्नुभयो ”आज हामी यहाँ केवल एउटा खेल प्रतियोगिताको उद्घाटन गर्न भेला भएका होइनौँ । आज हामी यहाँ दोलखा जिल्लाको एकता, युवाशक्ति, अनुशासन, सम्भावना र भविष्यको उद्घोष गर्न भेला भएका हौँ । भलिबल आज एउटा खेल मात्र होइन, यो सहकार्य, नेतृत्व, धैर्यता, अनुशासन र लक्ष्यप्रतिको प्रतिबद्धताको प्रतिक बनेको छ । समापन तथा पुरस्कार वितरण कार्यक्रममा पूर्व पर्यटनमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य आनन्द प्रसाद पोखरेलले प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्नुभएको छ । भने काठमाडौं २ को राप्रपाकि उमेदवार कुन्तिदेवि पोखरेल लगायत विभिन्न व्यक्तिहरु सम्मानित हुनु भएको छ । प्रतियोगिताका विजेताहरुले प्रथम पुरस्कार ४० हजार, द्वितीय पुरस्कार ३० हजार, तृतीय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । कार्यक्रम उद्घाटन देखि समापन सम्म अत्यन्तै सभ्य र भव्य रुपमा उत्साहजनक तवरले सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा आसन्न प्रतिनिधिसभा निर्वाचनका दोलखाली उम्मेद्वारहरु पार्वत गुरुङ, विशाल खड्का, अजयबाबु शिवाकोटी लगायत जिल्लाका विभिन्न राजनीतिक तथा सामाजिक व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।