पूर्वराजपरिवारका सदस्यहरुको जमघटबीच हिजो काठमाडौंमा एउटा विशेष कार्यक्रम गरियो, जसको ‘थिम’ थियो- ब्रेन ड्रेन टु ब्रेन ग्रेन (स्वदेश फर्क स्वदेशमै स्वर्ग) । सानेपास्थित इन्टरनेसनल क्लबमा आयोजित कार्यक्रम हिमानी ट्रस्टको नाममा गरिए पनि यसको खास ‘होस्ट’ भने पूर्वयुवराज पारस शाहकी पुत्री पूर्णिका शाह थिइन् ।
पूर्णिका हाल आफ्नो अध्ययन सकाएर हिमानी ट्रस्टमा इन्टर्नसीप गर्दैछिन् । उनकै अवधारणामा यो कार्यक्रमको आयोजन गरिएको थियो, जसलाई सिंगै राजपरिवारले अपनत्व लियो । प्राय पारिवारिक जमघटहरूमा छुट्ने गरेका पूर्वयुवराज पारस शाह पनि उपस्थित थिए र उनले लामै समय बिताए । छोरी पूर्णिकाकै आयोजना भएकाले सायद उनले विशेष चाख लिएका हुन् । उनी मिडियाका क्यामराहरूबाट भने टाढा रहन खोजे ।
कार्यक्रम सामान्य खालकै भए पनि राजपरिवारका सदस्यको व्यापक सहभागिताले नै यसलाई विशेष बनाएको हो । पूर्वराजा ज्ञानेन्द्र शाहदेखि उनका लोकप्रिय नाति हृदयन्द्र शाहसम्मले कार्यक्रमको शोभा बढाएका थिए । काठमाडौंमा उपलब्ध पूर्वराजपरिवारका सायदै कोही सदस्य यहाँ छुटे । हाल थाइल्यान्डमा अध्ययनरत पारस-हिमानीकी कान्छी छोरी कृतिका अनुपस्थित रहिन् । शारीरिकरूपमा अस्वस्थ रहेकाले पूर्वरानी कोमल आइनन् ।
हिमानी २ बजे आएर कार्यक्रमको उद्घाटनपश्चात फर्किएकी थिइन् भने उनी फर्किएपछि पारस र हृदयन्द्र आइपुगेका थिए । ज्ञानेन्द्रलाई लिएर हिमानी फेरि आइन् । राजपरिवारको परम्परा अनुसार पारस र हृदयन्द्रले ज्ञानेन्द्रलाई ढोगे । पूर्वराजा सँगसँगै पारस, हिमानी र हृदयन्द्र एकसाथ हलभित्र प्रवेश गरे । यस क्रममा पारस र हिमानीबीच संवाद भएको देखिएको थियो ।
अब चर्चा गरौं दुई चेलीहरूको जो नेपालको राजपरिवारका अभिन्न सदस्य हुन् । २०५८ सालमा राजा वीरेन्द्रको सपरिवार हत्या भयो, तर पनि उनको वंश भने पूर्णरूपमा समाप्त भएको छैन । वीरेन्द्रका एकमात्र नासोका रूपमा दुई चेलीहरू छन्, जो उनका साख्खै नातिनीहरू हुन् । राजा वीरेन्द्रकी छोरी श्रुतीको हत्या हुँदा उनका श्रीमान् गोरखशम्शेर गोली लागेर पनि बाँचेका थिए । गोरख र श्रुतीका दुई छोरीहरू गिर्वाणी र सुरंगाना पनि जीवित रहे । उनीहरू नै वीरेन्द्रका एकमात्र जीवित उत्तराधिकारी हुन् ।
दरबार हत्याकाण्ड हुँदा गिर्वाणी ३ वर्षकी र सुरंगाना केवल ७ महिनाकी थिइन् । उनीहरू अहिले क्रमशः २७ वर्ष र २४ वर्षका भइसकेका छन् । दरबार हत्याकाण्डपश्चात दरबारका उनीहरू दुवै पूर्णतया गुमनाम रहे । सार्वजनिकरूपमा कतै पनि उनीहरूको उपस्थिति देखिएन । २०७९ सालमा पिता गोरखशम्शेरसँग गिर्वाणी दरबार हत्याकाण्डको फोटो प्रदर्शनी अवलोकन गर्न गएको समाचार र तस्बिरहरू मिडियामा आएका थिए । ती तस्बिरहरू नियाल्दा गिर्वाणीले आँशु खसाएकी थिइन् ।
त्यसबाहेक गिर्वाणी र सुरंगना कुनै पनि सार्वजनिक कार्यक्रममा देखा परेका छैनन् । बरु सामाजिक सञ्जाल, विशेषगरी इन्टाग्राममा भने उनीहरूको उपस्थिति देखिन्छ । उनीहरूका धेरै भिडिओहरू टिकटकमा पनि भेट्न सकिन्छ । भारतमा बसेर पढेको बाहेक गिर्वाणी र सुरंगानाका विषयमा धेरै जानकारी दरबारनिकटहरूलाई पनि छैन । उनीहरूका बुवा गोरखसम्शेरले भने पछि दोस्रो बिहे गरेका थिए । उनले बैतडी दिप्ती चन्दसँग २०६५ सालमा विवाह गरेका थिए । दिप्ती पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका भाइकी छोरी हुन् । दिप्तीतर्फबाट पनि गोरखकी एक छोरी छन् ।
भारतमा रहेर पढ्दै गर्दा बेलाबखत छुट्टीमा नेपाल आउने गर्थे गिर्वाणी र सुरंगाना । नेपाल आउँदा उनीहरू नारायणहिटीस्थित महेन्द्र मन्जिलमा बस्दै आएकी जिजुआमा रत्नलाई अनिवार्य भेट्न पुग्छन् । उनीहरूको राजपरिवारका धेरै सदस्यहरूसँग खासै हेलमेल छैन । निटकस्थका अनुसार मामा पारससँग भने उनीहरूको निकै राम्रो सम्बन्ध छ ।
यिनी गिर्वाणी र सुरंगाना हिजो हिमानी ट्रस्टको कार्यक्रममा पनि देखिएका थिए । उनीहरू मिडियाको क्यामरामा पनि एक झलक कैद भए । कार्यक्रममा उपस्थित अधिकांशले भने उनीहरूलाई चिनेनन् ।
लामो समयदेखि दरबारको रिपोर्टिङ गर्दै आएकी अनुपमा जोशी भन्छिन्, ‘सार्वजनिक कार्यक्रममा नदेखेको हुँदा मैले पनि उनीहरूलाई सुरूमा ठम्याउन सकिनँ । दुवैजना एकदमै साधारण भेषभुषामा हुनुहुन्थ्यो । राजपरिवारका सदस्य हुन् भन्ने महसुसै भएको थिएन ।’
कार्यक्रममा उपस्थित अन्य राजपरिवारका सदस्यहरुसँग गिर्वाणी र सुरंगानाको त्यति हेलमेल भएको देखिएन । उनीहरू दुईजना बेग्लै बसिरहेका थिए । पारस आएपछि भने उनीहरू हर्षित देखिए । उनीहरूको व्यवहारबाट पारससँग निकै आमित्यता झल्किन्थ्यो । पारसले पनि निकै माया गर्दारहेछन् भाञ्जीहरूलाई ।