नेकपा माओवादी केन्द्रको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बोलेको कुरामा आत्मालोचना गर्न भन्दा उपमहासचिव जनार्दन शर्माले अस्वीकार गरेका छन् ।
आज सकिएको स्थायी कमिटीको बैठकमा प्रचण्डले शर्मालाई पार्टीको विधि र प्रक्रियाभन्दा बाहिर गएर बोलेको भन्दै आत्मालोचना गर्न आग्रह गरेको भएपनि अस्वीकार गरेको एक पदाधिकारीले बताए ।
ती पदाधिकारीले भने, ‘अध्यक्षले यस्ता अभिव्यक्तिले पार्टीलाई राम्रो गर्दैन । बाहिर राम्रो सन्देश पनि गएको छैन, तपाईँले आत्मालोचना गर्नुस्, पार्टी बैठकले पनि त्यही भनेको छ भन्नुभएको थियो । तर, उहाँले अध्यक्षले नगरी नगर्ने जवाफ दिनुभयो, मान्नुभएन ।’
माइन्यूटमा हस्ताक्षर नगरेको विषयमा चाहिँ गल्ती महसुस गरेर आत्मालोचना गरेको ती नेताले बताए । शर्माले नमानेपछि प्रचण्डले जवाफ फर्काए, ‘मैले कुन सन्दर्भमा गर्नुपर्ने हो, मैले त गरिरहे छु नि । जनतासँग पुगेर हाम्रो वर्गसँग सम्बन्ध टुट्यो। कार्यशैली र आचरण बिग्रिए, पार्टी कमजोर हुनुमा नेतृत्वको हिसाबले म जिम्मेवारी लिन्छु। तपाईँहरूले पनि आफ्नो भागको लिनुपर्छ ।’
उनले अध्यक्षले निरन्तर सार्वजनिक रूपमै आत्मालोचना गरिरहेको भएपनि शर्माले आफूले बोलेको कुरा फिर्ता लिन अस्वीकार गरेको सुनाए ।
शर्माले साउन ६ गते ४७ औँ पुष्पलाल स्मृति दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै मनमोहन अधिकारीबाहेकका सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट भएको अभिव्यक्ति दिएका दिए। जसले माओवादीवृत्तमा तरङ्ग ल्याएको थियो ।
ती पदाधिकारीले भने, ‘अध्यक्षले सबैकुरा स्पष्ट रूपमा भन्दा पनि उहाँले मान्नुभएन । यो कुरालाई पार्टीले गम्भीर रूपले लिएको छ, हेरौँ अब कसरी अघि बढ्छ ।’
त्यसो त हिजो बैठकमा धारणा राख्ने क्रममा पनि शर्माले ३१ लाख भोट ११ मा झरेको जिम्मा कसले लिने ? भन्दै प्रचण्डमाथि नै प्रश्न तेस्र्याएका थिए । माओवादी पार्टीबाट आफूलाई हेडक्वार्टरले जति धकेल्न खोजे पनि बाहिर नजाने भन्दै अध्यक्ष प्रधानमन्त्री हुँदादेखि नै बालुवाटारबाटै पार्टी फुटको हल्ला चलाइएको बताएका थिए ।
तर प्रवक्ता अग्नि सापकोटाले पार्टी फुट्दैछ भनेर भइरहेको चर्चा बैठकले खारेज गरेको दाबी गरे ।
उनले भने, ‘पार्टीमा सबैभन्दा ठुलो समस्या गुट, उपगुट र स्वार्थ समूह नै हुँदो रहेछ। ती सबै विघटन गर्ने सङ्कल्प बैठकले गरेको छ। कोही निर्णयविपरित गए त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ। त्यसका लागि हामीले अनुगमन समिति बनाउँदैछौं ।’
बैठकले शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको जिकिर गरे ।
उनले थपे, ‘अहिलेसम्म देखिएका विधानविपरित रोक्छौँ। आचारसंहिता र नियमावली गर्छौँ। अब विधि, प्रक्रिया र पद्धतिमा चल्ने सङ्कल्प गरेको छ ।’ उनले उपमहासचिव शर्माले उठाएको विषयमा बैठकमा सकारात्मक ढङ्गले छलफल भएको पनि बताए ।
उनले भने, ‘उहाँले माइन्यूटमा सही गर्ने प्रतिबद्धता जनाउनुभएको छ। बैठकमा स्थायी कमिटी सदस्यले उठाएको कुरामा महसुस गर्नुभएको छ । साउन ६ गते दिएको अभिव्यक्तिमा आत्मालोचना त गर्नुभएको छैन । तर, त्यस विषयमा उच्च जनवादी वातावरणमा छलफल गर्दै जाने कुरा भएको छ ।’
बैठकपछि बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले पनि पार्टी एकताबद्ध रूपमा अघि बढ्ने सामूहिक प्रतिबद्धता गरेको बताएको जिकिर गरे ।
उनले भने, ‘लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको निम्ति माओवादीलाई एकताबद्ध गर्ने चुनौती थियो । त्यो चुनौतीलाई जिम्मेवारीपूर्वक पूरा गर्यौँ । सामूहिक प्रतिबद्धता गरेका छौँ। सबै खाले गुटबन्दी समूहवद्धताको अन्त्य गर्ने संकल्प सामूहिक रूपमा गरेका छौँ ।’
छोटो प्रतिक्रिया दिँदै उपमहासचिव शर्माले पनि बैठकमा वैचारिक, राजनीतिक, सांगठानिक विधिका सबै एजेन्डामा उच्चस्तरमा गम्भीर छलफल भएर निष्कर्ष निकालिएको बताए ।