डा. टीका ढकाल
तीज नारीत्वको, संस्कृतिको र परिवर्तनको गौरव हो ।
तीज आयो भनेर गाउँघर
र शहर दुबैतिर रमाइलोको तरंग चल्न थाल्छन। टोलछिमेकका आँगनहरू सजिन थाल्छन्, महिलाहरू रंगीचंगी पहिरनमा सिँगारिएर झुम्मिन थाल्छन्।फेसबुक, युट्युब, टिकटक लगायतका सामाजिक सञ्जालहरूमा
तीज आउनु केही दिनअघि देखिनै तीजका गीतहरू गुञ्जिन थाल्छन्। जहाँ हेर्यो, त्यहाँ ‘रातो सारी, चुरा, पोते’
मा सजिएका महिलाहरू आफ्नो नाचगानमार्फत तीजको स्वागत गरिरहेका हुन्छन्। फोटो,
भिडियो, र लाइभ कार्यक्रममार्फत महिलाहरू
आफ्नो खुशी, आस्था र पहिचानलाई सामाजिक सञ्जालमा सेयर गर्छन्।कलाकार, गायक–गायिकाहरू
पनि यस पर्वलाई अझ रंगीन बनाउने प्रयासमा जुटेका हुन्छन्। आधुनिक शैली र परम्परागत
भाकाको संयोजनमा आधारित तीजका नयाँ गीतहरूले सबै पुस्तालाई जोड्ने प्रयास भइरहेको
हुन्छ। गायक पुरुषहरू पनि स्वर र संगीतमार्फत
महिलाको कथा, व्यथा, र उत्सवको सार
प्रस्तुत गर्न तत्पर देखिन्छन्। यति मात्र होइन, देश–विदेशका नेपाली महिलाहरूले सामाजिक सञ्जालमा तीजको
तयारी देखाउँछन्, गीतहरू शेयर गर्छन्, अनि आफ्ना कथाहरू सुनाउँछन्। यिनै दृश्य र
भावनाहरू मिलेर बनाउँछ तीजको "माहोल"
जुन केवल भौतिक सजावट होइन, आस्था, समर्पण, संघर्ष र पहिचानको पर्व हो।
तीज पर्वको धार्मिक
पृष्ठभूमि निकै पुरानो छ। हिन्दू धर्मग्रन्थहरूमा वर्णित कथन अनुसार, देवी पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर
तपस्या गरेकी थिइन्। त्यो तपस्या सफल भएपछि शिवले पार्वतीलाई स्वीकार गरे। त्यसैको
सम्झनामा महिलाहरूले पनि आफ्नो वैवाहिक जीवन सुखी होस्, वा भावी जीवनमा राम्ररी अघि बढ्न सकोस् भन्ने कामनासहित
व्रत बस्छन्। यद्यपि आजको तीज केवल पतिको प्राप्तिको निम्ति गरिएको व्रत होइन—यो
महिलाहरूको आत्मबोध, आत्मबल र सामाजिक चेतनाको उत्सव बनेको छ।
तीजको माहोलले महिला
सशक्तिकरणको बहुआयामिक परिप्रेक्ष्य ल्याएको छ। विगतमा तीजको महत्व केवल धार्मिक र
परम्परागत सीमामा सीमित थियो भने आज यसको घेरो सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक पक्षसम्म फैलिएको छ।
महिलाहरू अब केवल व्रत र पूजा गर्ने पात्र होइनन् तीजको माध्यमबाट
आफ्नो आवाज बुलन्द गर्ने, समाजको गलत सोचप्रति प्रश्न उठाउने, अनि समानताको पक्षमा बोल्ने बनेका छन्। सामूहिक नाचगान, गीत लेखन, नारी विषयमा केन्द्रित कार्यक्रमहरू र संवादको
आयोजनाले तीजलाई नयाँ परिभाषा दिएको छ। आजको तीज महिलाहरूको सामूहिक अभिव्यक्तिको
स्वरूप बनेको छ। विभिन्न संघ–संस्था, बचतसमुहरु, महिला समूहहरू, सहकारी, लगाएतका विभिन्न समूहरुले सामूहिक रूपमा मिलेर तीजका कार्यक्रमहरू आयोजना हुने गरेका छन। यी कार्यक्रमहरू केवल रमाइलोका लागि होइन, सशक्त विचार आदानप्रदान, नारी शिक्षा, लैङ्गिक समानता, हिंसाविरुद्ध चेतना, र आर्थिक सशक्तिकरणजस्ता विषयमा केन्द्रित हुन्छन्। यसरी
तीज अब ‘नाच्ने’ र ‘गाउने’ पर्व मात्र होइन, ‘बोल्ने’ पर्व पनि बनेको छ।
महिला सशक्तिकरणको
सन्दर्भमा तीज पर्व एक प्रतीक हो। महिलाले आफूलाई समाजको निर्णय प्रक्रियामा
ल्याउन, आफ्नो अनुभव सुनाउन, र आफ्नो उपस्थितिलाई मूल्य दिनका लागितीज पर्व एउटा सशक्त माध्यम बन्न गएको छ। विशेषगरी
ग्रामीण क्षेत्रमा, जहाँ महिलाको स्वर प्रायः दबिन्छ, त्यहाँ तीजको बेला महिलाले खुलेर गाउन पाउँछन् ,आफ्नो दुःख, पीडा, आशा र सपना। यस्ता गीतहरू केवल सांस्कृतिक
मनोरञ्जनका लागि मात्र होइन, महिलाहरुको जीवनको
जीवित दस्तावेज हुन्।
तीज पर्वले
महिलाहरूको आर्थिक सशक्तिकरणमा पनि उल्लेखनीय योगदान दिन थालेको छ। महिलाहरूले यस
अवसरमा उत्पादन गरिएका सामानहरू (जस्तै तीजको सजावट, श्रृंगार सामग्री, मौलिक पहिरन, परिकारहरू) बजारमा ल्याउन थालेका छन्। घरेलु
उद्यम र हस्तकला प्रवर्द्धनमा तीज महत्त्वपूर्ण अवसर बनेको छ। सहकारी संस्थाहरूले
तीजको मेलामा महिला उद्यमीहरूलाई स्टल उपलब्ध गराउने, उत्पादन प्रदर्शन गर्ने, र बिक्रीको अवसर
दिने गरेका छन्। यस्तो कार्यले महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बन्न, व्यापारिक सोच विकास गर्न र आफ्ना सीपहरू प्रदर्शन गर्न
प्रेरित गरिरहेको छ।
तीज पर्वले हाम्रो
मौलिक संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण योगदग दिएको छ। आज जति आधुनिकता बढेको
छ, त्यति नै परम्परागत गीतहरू, मौलिक नृत्य, लोकभाषा र परिकारहरू लोप हुने खतरा पनि बढेको छ। तीजका
मौलिक भाका, झ्याम झ्याम नाच, ढोलक, मादालको ताल, अनि माइती–ससुरालीको सम्बन्धमा गाइने गीतहरूले हाम्रो
संस्कृति जोगाइरहेका छन्। स्थानीय सरकार, विद्यालय र सांस्कृतिक संस्थाहरूले यस्ता मौलिक
तीज गीत प्रतियोगिता, परम्परागत पहिरन प्रर्दशनी, र सामूहिक
साँस्कृतिक कार्यक्रम आयोजना गरेर युवापुस्तालाई आफ्नो संस्कृति बुझ्न र आत्मसात
गर्न प्रेरित गर्नु आवश्यक छ।
आजको तीजको
सन्दर्भमा पुरुषहरूको भूमिका पनि बहसको विषय बन्न थालेको छ। महिला सशक्तिकरण केवल
महिलाले मात्र गर्ने कार्य होइन यो समग्र समाजले बुझ्नुपर्ने विषय हो।
पुरुषहरूले तीजको मर्म बुझ्न, महिलाको योगदानलाई स्वीकार गर्न, र महिलाको स्वतन्त्रता र आत्मसम्मानलाई सम्मान गर्न जरुरी
छ। कतिपय स्थानहरूमा पुरुषहरूले महिलाका लागि खाना पकाउने, उनीहरूका लागि कार्यक्रम व्यवस्थापन गर्ने, वा तीज गीत लेख्न,गायेन, नाच गरेर सहयोग गर्ने क्रम सुरु
भएको छ। यस्ता क्रियाकलापले पारिवारिक समन्वय बढाउँछ, आपसी सम्मानको भावना बलियो बनाउँछ, र लैङ्गिक समानताको अभ्यासमा सकारात्मक सन्देश दिन्छ।
मानसिक स्वास्थ्यको
दृष्टिकोणबाट पनि तीज पर्व महत्त्वपूर्ण छ। वर्षभरि घर–व्यवहार, जागिर, समाज र पारिवारिक दबाबका बीच महिलाहरू आफूलाई लुटाउँछन्, समर्पित गर्छन् . तीज त्यो समय हो जहाँ महिलाले
आफूलाई सम्झन्छन्, आफूलाई प्रेम गर्छन्, र आफूभित्रको शक्ति र अस्तित्वको पुनः स्मरण गर्छन्।
सामूहिक नाचगान, गीत लेखन, मिलन र संवादका माध्यमबाट महिलाहरूको भावनात्मक
थकान कम हुन्छ, सामूहिक सदभाव पाउँछन्, र मानसिक रूपमा
बलियो महसुस गर्छन्। यसरी तीज केवल धार्मिक पर्व मात्र नभई, एक प्रकारको "थेराप्युटिक फेस्टिभल" बन्न पुगेको
छ।
नयाँ पुस्ता र तीजको
सम्बन्धलाई पनि हामीले गम्भीर रूपमा लिनुपर्छ। आजका युवतीहरू, विशेषतः शहरमा हुर्किएकाहरू, तीजलाई फैशन, फोटोशूट, वा टेण्डी ट्रेन्डको रूपमा हेर्न थालिएका छन्।
तर त्यो बाह्य स्वरूपमा मात्र केन्द्रित हुँदा तीजको गहिरो मर्म गुम्न सक्छ।
त्यसैले परिवार, विद्यालय र समुदायले युवापुस्तालाई तीजको मूल कथा, देवी पार्वतीको तपस्याको दर्शन, महिलाको संघर्ष, र सामाजिक सन्देशलाई बुझाउने खालका कार्यक्रम
सञ्चालन गर्न जरुरी छ ।
निष्कर्षका रूपमा
भन्नुपर्दा, तीज पर्व केवल देवीको पूजा वा रितिरिवाजको निरन्तरता मात्र
होइन, यो पर्व महिलाहरूको आत्मविश्वास, सामाजिक चेतना, आर्थिक आत्मनिर्भरता, र सांस्कृतिक पहिचानको पर्व हो। यस पर्वले महिलाहरूलाई
नाच्न, गाउन र रमाउन मात्र होइन, सोच्न, बोल्न र बदल्न पनि सशक्त बनाएको छ। तीजले आस्थाको माध्यमबाट
मानसिक सशक्तिकरण, संगठनको माध्यमबाट सामाजिक सशक्तिकरण, र सीपको माध्यमबाट आर्थिक सशक्तिकरण गर्न भूमिका खेलिरहेको
छ।
हामी सबैको
उत्तरदायित्व हो यस पर्वको मर्मलाई बुझ्ने, यसको सकारात्मक रूपान्तरणलाई साथ दिने, र भावी पुस्तालाई यसको सही मूल्य हस्तान्तरण गर्ने। जब
महिला सशक्त हुन्छिन्, तब मात्र समाज सशक्त हुन्छ। तीज यो यात्राको एक
सशक्त माध्यम हो। हामीले यो पर्वलाई केवल
संस्कारको निरन्तरता नभई, समृद्धिको सम्भावना बनाउनु पर्छ। तीज हाम्रो
गौरव हो नारीत्वको, संस्कृतिको र परिवर्तनको।
लेखक डा. टीका ढकाल नेपाल बौद्धिक परिषद्की प्रचार सचिव हुन्