ललितपुर, धापाखेल — नेपालका लाेकतान्त्रिक एंव कम्युनिस्ट अान्दाेलनका नेता, नेकपाका महासचिव, किसान संघका संस्थापक अध्यक्ष, नेकपा संसदीय दलका नेता (२०१५-१७)अग्रणी समाजवादी चिन्तक, राजनीतिज्ञ तथा प्रजातान्त्रिक आन्दोलनका अगुवा तुल्सीलाल अमात्यकाे २८औँ स्मृति दिवसका अवसरमा तुल्सीलाल स्मृति प्रतिष्ठानकाे अायाेजनामा उपत्यकाव्यापी १२औं माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता भव्य रूपमा उद्घाटन भएको छ। कार्यक्रमको अन्तिम चरण २०८२ साउन १७ गते, स्मृति दिवसकै दिन सम्पन्न हुनेछ
धापाखेलस्थित रिजेन्ट आवासीय विद्यालयको सभाहलमा आयोजित प्रतियोगितामा कूल ३० वटा माध्यमिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता शैक्षिक क्षेत्रमा विद्यार्थीको सिर्जनशीलता, ज्ञान र प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिलाई उद्देश्य राखी आयोजना गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय रघुजी पन्त थिए। उहाँले स्मृति दिवसमा आयोजित शैक्षिक प्रतिस्पर्धा युवाहरूको सशक्त बौद्धिक विकासको आधार हुने विश्वास व्यक्त गर्दै तुल्सीलाल अमात्यजस्ता राष्ट्रभक्त, सिद्धान्तनिष्ठ र कर्मशील व्यक्तित्वहरूबाट प्रेरणा लिनु आजको आवश्यकता भएको उल्लेख गर्नुभयो।
कार्यक्रमका विशेष अतिथि तुल्सीलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्वमन्त्री गोपाल शाक्यले प्रतिष्ठानको दीर्घकालीन अभियान र स्मृति दिवसका अवसरमा हुने गतिविधिहरूले नयाँ पुस्तालाई जनताको हितमा सोच्न प्रेरित गर्दै आएको बताउनुभयो।
अन्य अतिथिहरूमा प्रतिष्ठानका संरक्षक डा. दिवस अमात्य, वरिष्ठ उपाध्यक्ष माधव पौडेल, बागमती प्रदेशका पुर्वराज्यमन्त्री जीवन खड्का, पुराना कम्युनिस्ट नेताहरु, कार्यसमिति सदस्यहरूकाे उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक एवं कोषाध्यक्ष बाबुराम थापाले प्रतियोगिता मार्फत विद्यार्थीहरूमा देशप्रेम, ज्ञान, र राष्ट्रिय चिन्तन विकास हुने विश्वास व्यक्त गरे।
हाजिरी जवाफ प्रतियोगिताको अन्तिम चरण साउन १७ गते सम्मानीय प्रधानमन्त्री केपी शर्मा अाेलीकाे प्रमुख अातिथ्यतामा पुरस्कार बितरण गर्दै सम्पन्न गरिनेछ। विभिन्न चरण पार गर्दै उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय बिद्यार्थीहरुलाई प्रमाणपत्र, ट्रफी तथा पुरस्कार प्रदान गरिने छ। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न आयोजक प्रतिष्ठान, विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण सहयोगी पक्षप्रति आयोजकले आभार प्रकट गरेको छ। तुल्सीलाल स्मृति प्रतिष्ठानले आगामी दिनमा यस्ता शैक्षिक गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने जनाएको छ।